परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दिवाभोजको आयोजना
न्यूयोर्क-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्र सङ्घको महासभा बाहिर दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क ) मन्त्रिपरिषद्स्तरमा एक अनौपचारिक दिवाभोजको आयोजना गर्नुभयो ।
उक्त भोजको आरम्भमा मन्त्री ज्ञवालीले सार्कका प्रक्रिया यस क्षेत्रका जनताको भलाइका लागि प्रभावकारी तथा नतिजामूलक हुनुपर्नेमा जोड दिनुभयो ।
सहभागी मन्त्रीहरूले पनि सार्क शिखर बैठकले गरेको निर्णयको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको थियो ।
उहाँहरुले सार्क प्रक्रियालाई पुनः सशक्त बनाउने विभिन्न विषयमा छलफल गर्नुभएको विज्ञप्तिमा बताइएको छ ।
उक्त भोजमा सार्क सदस्य मुलुकका विदेशमन्त्रीहरूको सहभागिता रहेको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैगरी परराष्ट्रमन्त्री ज्ञवालीले मध्यस्थताका मित्रहरूको समूहको उच्चस्तरीय मन्त्रिस्तरीय बैठकमा समेत भाग लिनुभयो ।
पराष्ट्रमन्त्री ज्ञवालीले आजै नर्वेका अन्तर्राष्ट्रिय सहयोगमन्त्री निकुलाई एस्ट्रपसँग भेटवार्ता गर्नुभयो । भेटवार्तामा नेपालमा नर्वेको सहयोगका साथै अन्य विषयमा छलफल भएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैबीच परराष्ट्रमन्त्री ज्ञवालीले ७७ मुलुक तथा चीनको वार्षिक मन्त्रिस्तरीय बैठकमा भाग लिनुभयो । उक्त बैठकमा ‘‘युवा रोजगारी तथा उत्पादक क्षमतामा सीमाको प्रभावका मुद्दा’’मा छलफल भएको थियो ।
आज साँझ संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक प्रमुख राजदूत निर्मलराज काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओली तथा संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ महाधिवेशनमा भाग लिन आएको नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा एक रात्रिभोजको आयोजना गर्नुभयो ।
