करेन्ट लागेर एकको मृत्यु, दुई घाइते
नुवाकोटको लिखु गाउँपालिका–१ शान्तिबजारमा करेन्ट लागेर एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
आज बिहान साढे ६ बजे विजुलीको पोल ढल्केर लत्रिएको तारमुनिबाट हिँड्ने क्रममा करेन्ट लागेर बेहोस भएकी लिखु–१ शान्ति बजारकी तुलसा अधिकारीलाई उपचारका लागि विदुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सोही करेन्टमा परेर उक्त स्थानकै लालप्रसाद लामिछाने र आफन्तको घरमा आएकी बेलकोटगढी नपा–१२ मदानपुरकी १९ वर्षीया सदीक्षा पौडेल घाइते भएका र उनीहरूलाई विदुरस्थित नुवाकोट सिटी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौंँ पठाइएको छ ।
गए राति बाढीले जमीन कटान गरेकाले खोला छेउमा गाडिएको ३३ केबी प्रसारण लाइनको पोल मानिस हिँड्ने बाटोतर्फ ढल्किएर लत्रिएको कारण यो दुर्घटना भएको थियो ।
